कालिकोट । जिल्लाको झापा गाउँपालिकाले गाउँपालिका भित्रका छ सय ३० जना विद्यार्थीहरु लाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको बताईएको छ । गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही रु नौ हजार छ सय ५० र कक्षा १२ का विद्यार्थीलाई जनही रु ११ हजार दुई सय र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा तीन सय ५२ विद्यार्थी र जनता माविका दुई सय २२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो ।