आज देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

कालिकोट । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्ला २४ घण्टामा चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ टिटिहिरियास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका वडा ३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बैतडीको डिलासैनी गाउँपालिका वडा नं १ स्थित बसन्तपुर तुफानडाँडामा बर्मबाट सिमारतर्फ जाँदै गरेको सु.प.प्र०१००२ त ४६८६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका–१ बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्टको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिरहाको लहान नगरपालिका–१८ बसाजोरमा अमहीबाट लहानतर्फ जाँदै गरेको स.१० प २०९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–१८ बस्ने १५ वर्षीय जितेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–४ हुलाकी सडकमा वीरगन्जबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू ३४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारूको मृत्यु भएको छ । हिजो बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!