कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । राष्ट्रिय स्वाधिनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नभएको भन्दै उनले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने धारणा राखे । ‘समाजवाद नै अबको क्रान्तिको बाटो हो । कुनै न कुनै रुपले सहकार्य र कुनै न कुनै रुपले एकतामा जान आवश्यक छ,’ उनले भने । त्यसका लागि धेरै जोखिम र चुनौति रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकताको निम्ति जोखिम उठाउनुपर्ने बताए ।