कालिकोट । सामाजिक विकास मन्त्रालयमा नेकपा एमाले र माओवादी केन्द्रले दाबी गर्दा अझै कर्णाली प्रदेशमा सरकार विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद विस्तार हुन नसक्दा यति बेला मुख्यमन्त्री यामलाल कँडेलले नै सबै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । सत्ता साझेदार दुवै दलको रोजाइमा सामाजिक विकास मन्त्रालय रहेको छ । मुख्यमन्त्री कँडेल जसरी हुन्छ, यो मन्त्रालय एमालेकै भागमा पार्न चाहिरहेका छन् । तर सत्तारुढ दल माओवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सामाजिक मन्त्रालयमै कुरा नमिलेका कारण सरकार विस्तारको काम रोकिएको बताए । उनले भने, ‘सभामुख पनि उहाँहरूकै हुने, मुख्यमन्त्री पनि उहाँहरूकै हुने भएपछि यो हुँदैन, हामीलाई सुरुमा सभामुख चाहिन्छ । अनि सरकारमा चार वटा मन्त्रालय चाहिन्छ भनेका थियौँ ।’ मुख्यमन्त्री कंडेलले सुरुमा माओवादीलाई अर्थ मन्त्रालयसमेत दिन नचाहे पनि पछि मानेको तर फेरि सामाजिक मन्त्रालयमा आएर बार्गेनिङ गर्न थालेको शर्मा बताउँछन् । शर्माले ०७९ मा आफूले एमालेलाई अर्थ, सामाजिक र उद्योग मन्त्रालय सहज रूपमै दिएको स्मरण पनि गराए ।