कालिकोट । नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ सोमबार छिचोलिएको छ । सोमबार नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले विद्युतीय स्वीच थिचेर ब्लास्टिङ गरी सुरूङ ’ब्रेक थ्रु’ गरिएको हो। २ हजार ६ सय ८८ लम्बाइको सुरूङमध्ये दुई मिटर खन्न बाँकी थियो । गत वर्ष फागुनमै सुरूङ खनिसक्ने योजना थियो । तर स्थानीय बासिन्दाले विभिन्न माग राखेर अवरोध गरेपछि केही समय धकेलिएको थियो। यो सुरूङले काठमाडौंतर्फ बलम्बु र धादिङ सिस्नेखोलास्थित पृथ्वीराजमार्गलाई जोडेको छ । सिस्नेखोलादेखि काठमाडौं बलम्बुसम्म अहिले सडकको दूरी ८ किमी छ। सुरूङमार्ग बनेपछि सिस्नेखोला–बलम्बु दूरी ५ किमी हुन्छ। सिस्नेखोला–बलम्बु जोड्ने सुरूङ तयार गरेर २.८ किमी दूरी घटाउन लागिएको हो।