कालिकोट । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व(दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरेका हुन्।संस्कृतिविद्का अनुसार यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । यो पर्वमा शहरभर घोडा कुदाउने गरिन्थ्यो। बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको संस्कृतिविद् बताउँछन्।शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी घोडेजात्राको राति टुँडिखेलको त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यही दिन ललितपुरमा पनि एउटा ‘कानो’ घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।