कालिकोट। कालिकोटमा शैक्षिक सत्र शुरु हुनुभन्दा पुर्व नै पहिलो पटक पाठ्यपुस्तक पुगेको छ । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक विक्रेताहरुसंग पाठ्य पुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालिकोटका निमित्त प्रमुख प्रकाश चन्द्र धितालले जानकारी दिए । पहिलो पटक जिल्लामा शैक्षिक सत्र शुरु हुनुभन्दा पहिलानै पाठ्यपुस्तक उपलब्ध भएको बिनोद बुक सेन्टरका सञ्चालक नन्द बहादुर शाहीले बताए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको सञ्चालक शाहीले बताएका हुन् । गएको चैत्र १५ गतेनै कक्षा १ देखि १० सम्मका सबै बिषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका र अहीले स्थानिय तहका विभिन्न विद्यालयमा पठाउने कार्य भई रहेको शाहीले बताएका छन् । शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने महावै गाउँपालिकाका शिक्षा अधिकृत मदन बहादुर शाहीले बताए । पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उनले बताए । उनले आफ्नो गाउँपालिकाका सम्पुर्ण विद्यालयमा समयमै पाठ्यपुस्तक पुगाउने बताए । कक्षा १ देखि १० सम्म सरकारले निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउदै आईरहेको छ । यो भन्दा पहिलाका शैक्षिक सत्रमा भने शैक्षिक सत्र शुरु भएको लामो समय सम्म पनि पाठ्यपुस्तक नपाउदा विद्यार्थीहरुले सास्ती खेप्नु परेको थियो ।