कालिकोट । कणाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री शर्माले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि २२ फागुनमा तत्कालीन सत्ता साझेदार कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश संसद् सचिवालयले आज दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको छ।र केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको छ।प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए। तर, मुख्यमन्त्री शर्माले केन्द्रको निर्णय ढिला आएको र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने जवाफ दिएको सरकारका प्रवक्ता कानुन मन्त्री कृष्णबहादुर जिसीले बताएका छन्।केन्द्रीय निर्णय अनुसार राजीनामा दिनुपर्ने मुख्यमन्त्री शर्माले राजीनामा नदिएर प्रदेश सभाको कार्यसूची अनुसार नै विश्वासको मत लिने मन्त्री जिसीको दाबी छ। केन्द्रको निर्णय अनुसार अघि बढ्ने नै भए पनि विश्वासको मत लिइसकेपछि मात्रै अघि बढ्ने मन्त्री जिसीको भनाइ छ।संवैधानिक प्रक्रिया अवलम्बन गरेर अघि बढिसकेपछि केन्द्रले हस्तक्षेप गर्दा प्रदेशको स्वायत्तता माथि हनन् हुने जिसीको तर्क छ।पछिल्लो समय माओवादीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिच दुरी बढ्दै गएको र कर्णालीबाट शर्माले प्रचण्डलाई नै चुनौती दिन खोजेको माओवादी नेताहरू बताउँछन्। माओवादीले नेतृत्व गरिरहेको कर्णालीमा एमालेले मुख्यमन्त्री दाबी गरेपछि माओवादीभित्रै मतभेद बढेको छ। ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ।गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।