अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष ग्रेग बार्कको राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेट

कालिकोट । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बार्कले आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङसँग भेट गरेका छन्।भेटमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको छ।भेटमा सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्षस्थानलाई आगामी दिनमा पनि निरन्तरता दिन प्रयासरत रहेको बताउँदै क्रिकेटका पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताएका छन्।सदस्यसचिव घिसिङले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको पनि जानकारी आईसीसी अध्यक्ष बार्कलेलाई गराएका छन्।