१०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न माधव नेपालको निर्देशन

कालिकोट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्।अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न निर्देशन दिएका हुन्।बदलिएको परिस्थितिमा पार्टी अर्को गठबन्धनमा रहेको भन्दै उनले मन्त्रीहरूबाट परिणाममुखी काम गर्ने आशा राखेको बताएका छन्। पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्न लागेको महाधिवेशनको तयारी शुरु गरेको छ।अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका साथै विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको छ।