कालिकोट । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच खेल हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे सुरु बताइएको छ । हिजो खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृङ्खलाको फाइनलमा प्रवेश हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डो¥याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाएका हुन् । टोनी उराले टोलीका लागि अविजित ५१ रनको योगदान गरे भने उनले केवल ३३ बलमा दुई छक्का र पाँच चौका पनि हिर्काएका थिए । अर्का ओपनर सेसे बउले अविजित ६१ रन बनाएका छन् । त्यस्तै उनले ४३ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । पीएनजीले अतिरिक्त रुपमा १२ रन पायो । हिले ब्याटिङ गरेको हङकङका लागि जिसन अलीले अविजित ५५ रन बनाएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २९ बलको सामना गरी ६ छक्का र एक चौका पनि हिर्काएका थिए । नसरुल्ला राणाले १६ रन बनाए । एहसान खानले १६ रन जोडे । अनुभवी ब्याट्सम्यान बाबर हायात भने १२ रन बनाउँदै आउट भए । हङकङका माथिल्ला तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पीएनजीका बलर काबुआ मोरिया, एली नाओ, अनाग्रेस भाला र सेसे बउले दुई–दुई विकेट लिएका थिए । त्यसअघि मंगलबार नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।