कालिकोट । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् आज भएको राष्ट्रिय सभा निर्वाचनमा भएको मतदानमा दाहालले ३९ मत प्राप्त गर्दै विजय भएका छन् भने उनको विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद सहभागी भएका थिए । दाहालले सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवारी दिएका थिए । उनलाई राष्ट्रिय सभा अध्यक्ष जिताउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । त्यसपुर्व, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले भने मतदानमा भाग लिएको थिएन । २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका दाहाल २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् । दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद थिए । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । २०७० को चुनावमा भने सोही क्षेत्रबाट पराजित भएका थिए ।