सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी छन् । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा शनिवारवाट सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले रक्तदाताको सङ्ख्या बढाउन आम नागरीकले सबै क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताइन्। रक्तदानसम्बन्धी जनचेतना जगाउन सरकारले ध्यान दिने बताउँदै सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदानसम्बन्धी चेतनामूलक सामग्री थप्ने प्रतिबद्धता व्यक्त गरिन्। सामान्य अवस्थामा पनि रगत आवश्यक पर्ने उल्लेख गर्दै उनले हाम्रो देश विपद्को जोखिममा रहेकाले आपत्कालीन रगत व्यवस्थापनलाई समग्र विपद् व्यवस्थापनकै एउटा पाटोका रुपमा जोडेर लैजानुपर्ने बताइन्।