मन्त्रिपरिषद् विस्तारको तयारी दलहरु आन्तरिक छलफलमा,

कालिकोट । आ–आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजनै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । माओवादी केन्द्रका शीर्ष तहका नेताहरु हिजो बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको स्रोतको दाबी छ । यद्यपि यसको अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । आजै एकीकृत समाजवादीको पनि बैठक बस्दै छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले हिजो भेटेर सरकारमा सहभागी हुन अनुरोध गरेका थिए । अध्यक्ष नेपालले पार्टीको बैठक बसेर आवश्यक निर्णय लिने जवाफ दिएका थिए । त्यसैले एकीकृत समाजवादीको सचिवालय बैठक ११ बजे बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान फेरि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेटेर छलफल गरेका छन् । सो छलफलमा खनालले वाम दलहरु सँगै मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।

error: Content is protected !!