कालिकोट । नेपाल सरकारका प्रबक्ता साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको त्याग तपस्या र वलिदानीबाट स्थापित भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छिन् । आईतवार नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहको अवसरमा दाङको घोराही उपमहानगरपालिका वडा नं ६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि जिवन त्याग गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने बताइन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो । मन्त्री शर्माले मुलुकमा व्यवस्था परिवर्तनका लागि भएको लामो द्वन्द्वका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताइन् । उनले बेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै जनआन्दोलनका क्रममा घाइते भएका योद्धाको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताउनुभयो । माओवादीले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउँदै आएको छ ।