मोरङमा टिपरले टाटा सुमोलाई ठक्कर दिदा तीन जनाको मृत्यु

कालिकोट । मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । बेलबारी नगरपालिका वडा नं ३मा पर्ने पुरानो मालपोत जाने बाटोमा शुक्रवार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका वडा नं २ का ५२ वर्षीय यदुकान्त भट्टराई र त्यही ठाउँका वर्ष ४४ कि दिपा खनाल रहेकी छिन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको र सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । गजुरेलको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । बिहान करीव ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालका अनुसार बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रुबहाक बसमा पनि सुमो ठोकिएको थियो ।