कालिकोट । मोरङ, कटहरीमा रहेको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघले दिएको झुटो विवरणमा वडाध्यक्ष र प्रहरीले पनि सहि गरेको भेटिएको छ । विशिष्टीकृत सहकारी संघले सेयर सदस्यहरुबाट संकलन गरेको रकम १ करोड ३ लाख रुपैयाँको हिसाब किताब अन्यौलग्रस्त भएको छ । सहकारी संघका अध्यक्ष देवेन्द्र पौडेल र सचिव राकेश दाहालले भने ९० हजार किलो प्याज बाढीले डुबेर बिग्रिएको तथा ३८ लाखभन्दा बढी रकम बजारमा बाँकी रहेको झुटो विवरण पेस गरेको सहकारीकै सेयर सदस्यहरू बताउँछन् । बाढीले डुबाएको ४२ दिनपछि सर्जिमिन मुचुल्का गर्न आग्रह गरेबमोजिम आधार र प्रमाण बिनै प्रहरीले ४७ दिनपछि मुचुल्कामा सही गरेको देखिन्छ । उक्त मुचुल्कामा तरकारी तथा मेसिनरी औजारको अन्दाजी मूल्य ५५ लाख रुपैयाँ र भवन तथा संरचना कम्पाउण्ड वालको अन्दाजी मूल्य १ करोड रुपैयाँ गरी अनुमानित १ करोड ५५ लाख क्षति भएको उल्लेख गरीएको छ । मुचुल्कामा कटहरी वडा नम्बर १ का शंकर राई, विजयकुमार भुजेल, अनिता देवी थापा, लगाएत वडाध्यक्ष कपुरलाल माझी तथा तत्कालीन वडा प्रहरी कार्यालय हाटखोला मोरङकी इन्चार्ज प्रहरी प्रहरी नायव निरीक्षक मुना डाँगी र प्रहरी जवान दिपेश पोखरेलले मंसिर १५ गते मुचुल्का गरिदिएका भेटीएको छ । जिम्मेवार पक्षले घटना भएकै समयभित्र सम्बन्धित निकायमा निवेदन दिइ क्षतिको सर्वपक्षीय सर्जमिन र स्थलगत अनुगमन अवलोकन नगराइ बाढी आएको दिनबाट ४७ दिनपछि वडा प्रहरी कार्यालयमा निवेदन दिइ क्षति भएको भनिएको प्याजको अवशेष समेत नभएको अवस्थामा हचुवाको भरमा सर्जमिन मुचुल्का तयार गराएको देखिन्छ,’ लेखा सुपरीवेक्षण समितिका संयोजक टीकादत्त वनले दिएको निष्कर्षमा भनिएको छ, ‘वास्तविक क्षति भएकै हो भन्ने बेहोरा शङ्कास्पद देखिन्छ ।’ हाल राष्ट्रिय सहकारी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत रहेका रमेश पोखरेलको सहयोगमा अध्यक्ष र सचिवद्वयले त्यसबेला दबाब दिएर प्रहरीलाई मुचुल्का उठाउन लगाएको बताईएको छ ।