नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले कप्तानी गर्नेछन् । नेपालले टी–२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग–२ को टोलीलाई निरन्तरता दिएको छ । लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ । कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी टी–२० का प्रमुख ब्याटर हुन् । यी चार खेलाडी प्रदर्शनमा टोलीको योगफल निर्धारण हुनेछ । ओपनर कुशलबाट नेपाल आक्रामक सुरुवात चाहन्छ । कुशलले २९ टी–२० आईमा एक शतक र ७ अर्धशतकसहित ९१५ रन बनाएका छन् । उता कुशल मल्ल विष्फोटक ब्याटर हुन् । उनी चलेको खण्डमा नेपालले एकै ओभरमा खेललाई मोड्न सक्छ । अनिल राम्रो लयमा देखिंदै टोलीमा पुनरागमन गरेका छन् ।