कालीकोट । जिल्लाका पाँच वटा स्थानिय तहहरुमा आजबाट दादुरा–रुवेलाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ । आज यक कार्यक्रमका विच खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख धनजीत बहादुर शाही द्धारा स्वास्थ्य कर्मीहरुलाई सिरिन्ज र बालबालिकालाइ खोपकाड दिएर खोप अभियान उद्घाटन भएको घोषणा गर्नु भएको जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनु भयो ।
उक्त उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख मिना रावत(वि.क), जिल्ला स्थित सम्पुर्ण पत्रकार,स्वास्थ्य सेवा कार्यालय कालिकोटका स्वास्थ्य कर्मीहरु लगाएतको उपस्थिति रहेको थियो । पहिलो चरणमा आजबाट फागुन १५ गतेसम्म खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा खोप सञ्चालन हने जनस्वास्थ्य अधिकृत महतले बताउनु भयो ।
जिल्ला भर शुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ । स्वास्थ्य सेवा कार्यलयका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर संकेत विश्वकर्माले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेकाले सबै बालबालिकालाई लगाउन अनुरोध गर्नुभयो ।
उहाँले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा आज देखी फागुन १९ गतेसम्म खोप अभियान सञ्चालन हुदैछ । सो अभियानमा ९ महिना देखि ५ वर्षसम्मका १७ हजार ४ सय ३८ बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनु भएको छ ।