त्रिविको स्नातक कार्यक्रम तीनवर्षे बनाइने नवनियुक्त उपकुलपतिको घोषणा ।

कालिकोट । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिनु भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उहाँले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले २०७१÷०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक कार्यक्रम शुरुवात गरेको थियो । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेको भन्दै उहाँले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताउनुभयो । यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने गरी पुनःसंरचना गरिने उहाँले जानकारी दिनुभयो । उपकुलपति बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताउनुभयो ।

error: Content is protected !!