कालीकोट । गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम तिव्र रुपमा अघि बढेको छ । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न अझै केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिएका छन । जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार नौ सय ६२ मध्ये अझै तीन हजार नौ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको सहायक प्रजिअ बढुवालले बताएका छन । हालसम्मम सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार नौ सय ३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय आठ अस्थायी आवास निर्माण गरिएको छ । चौरजहारी नगरपालिकामा छ हजार एक सय ९४, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणी गाउँपालिकामा तीन हजार ४९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण गरिएको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।