काठमाडौँ । नेपालमा पछिल्लो एक वर्षमा एक हजार ३४९ जनामा दादुरा रोग पुष्टि भएको छ । तीमध्ये एक जनाको निधन भएको छ । गत वर्ष मंसिरदेखि यो वर्षको मंसिरसम्म दादुरा पुष्टि भएका र मृत्यु भएकामध्ये ७४ प्रतिशत बिरामी ९ महिनादेखि १५ वर्ष मुनिका रहेको राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा उल्लेख छ ।दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा–रुबेला खोप नलिएकामा ३१ प्रतिशत बालबालिका ९ महिनादेखि ५ वर्ष मुनिका छन् । दादुरा रोग भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत देखिएको सो निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका ३ जिल्ला गरी देशभरका २४ जिल्लाका ९ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिका दादुराको जोखिममा छन् । कोशी प्रदेशको झापा, मोरङ र सुनसरी गरी ३ जिल्लाका बालबालिका दादुराको जोखिममा छन् । यस्तै, मधेस प्रदेशको आठवटै जिल्ला दादुराको जोखिममा छ । बागमती प्रदेशका चितवन, काठमाडौँ, ललितपुर र भक्तपुर गरी ४ जिल्लामा दादुराको जोखिम छ । गण्डकी प्रदेशको नवलपरासी–पूर्व दादुराको जोखिममा रहेको सरकारी तथ्याङ्क छ । लुम्बिनी प्रदेशको नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्ला दादुराको जोखिममा छन् । यस्तै, सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर गरी २ जिल्लाका बालबालिका दादुराको उच्च जोखिममा छन् । देशभरका ५३ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिका दादुराको न्यून जोखिममा रहेको पहिचान भएको छ । कोशी प्रदेशमा ताप्लेजुङ, ईलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा गरी ११ जिल्ला न्यून जोखिममा छन् । यस्तै, बागमती प्रदेशका मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, नुवाकोट, रसुवा र धादिङ गरी ९ जिल्ला न्यून जोखिममा छन् । गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ र बाग्लुङ गरी १० जिल्ला कम जोखिममा रहेको निर्देशिकामा उल्लेख छ । लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुम–पूर्व र अर्घाखाँची गरी ६ जिल्ला कम जोखिममा छन् । यस्तै, कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जुम्ला, हुम्ला, मुगु र डोल्पा गरी १० जिल्ला कम जोखिममा छन् ।निर्देशिका अनुसार जाजरकोट र रुकुम–पश्चिम भूकम्पबाट बढी प्रभावित जिल्लाको रुपमा पहिचान गरी ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई लक्षित उमेर समूह निर्धारण गरेर गत पुसमा दादुरा–रुबेला खोप अभियान सम्पन्न भएकाले हाल कर्णाली प्रदेशका ८ जिल्लामा मात्रै खोप अभियान सञ्चालन गरिने छ । यस्तै, सुदूरपश्चिम प्रदेशका डोटी, डडेलधुरा, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुला गरी ७ जिल्ला कम जोखिममा रहेको उल्लेख छ । सन् २०२६ सम्म दादुरा र रुबेला रोग निवारण गर्ने सरकारी लक्ष्य सरकारले २०२६ सालसम्म दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य लिएको छ । यो खोपको कभरेज÷पहुँच ९५ प्रतिशत स्थानीय तहमा पु¥याउने उल्लेख छ । यसका लागि सरकारले चालु आर्थिक वर्षमा देशभरि नै दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गररे यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ । पहिलो समूहमा दादुरा–रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ । यो अभियान मार्फत ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट खोपको मात्रा प्रदान गरिने भएको छ ।
रातोपाटीबाट साभार