कालिकोट । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष आज जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् । पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत मंसिरदेखि फरार थिए । आज आफैं अदालतमा उपस्थित भएका सुवेदीलाई यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । उनी धरौटीमा रिहा भएलगत्तै सोही सहकारीमार्फत २ करोड रुपैयाँ बराबरको घर हत्याएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । झुक्याएर एक महिलाको २ करोड रुपैयाँ बरबारको घर नै वडाध्यक्ष सुवेदीले खाइदिएको उजुरी परेको थियो । ‘अदालतमा उपस्थित भएपछि सम्मानित अदालतले धरौटीमा आड्ने आदेश गरेपनि उहाँविरुद्ध ठगीको अर्को जाहेरी थियो, सोहीका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरेका हौं,’ एसपी थापाले भने । सोही सहकारीको ठगी प्रकरणमा फरार अधिवक्ता जनकल्याण पराजुली पनि हिजो अदालत उपस्थित भएका थिए । उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।