पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको नारीघाटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ घाइते

कालिकोट । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका बताईएको छ । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६च ४९१८ नम्बरको बोलेरो जीप गए राति अनियन्त्रित भई सडक छेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनु भएको छ । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरुमध्ये ६ जना चितवनका र एक जना गोरखाका रहेका छन् । दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ घाइते भएका छन् । त्यस्तै चितवनको इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ र चितवनकै भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ पनि घाइते भएका छन् । घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।

error: Content is protected !!