कालिकोट । चितवनको भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अगाडि बढाउन सोमबारदेखि सर्भेको काम सुरु हुने भएको छ । सर्भे एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ । हिजो भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो । समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति गरिएको छ । विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरूप ओएलएस –अप्सट्रेकल लिमिटेशन सर्भे गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिए । सर्भेको रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्ने छ ।नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडा प्रजनन् केन्द्रको शक्तिखोरमा स्थान्तरण गर्ने कार्य एक साथ अगाडि बढ्ने बताइएको छ । गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैंठकले विमानस्थलको रनवे विस्तारका लागि हाल रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्ने निर्णय गरेको हो । विमानस्थलको पूर्वतर्फ नीजि जमिन भएकोले विस्तार गर्न सक्ने अवस्था छैन । ती जग्गामा प्राधिकरणले भवन निर्माणको काम र तला थप गर्न रोक लागएको छ । विमानस्थलको पश्चिमतर्फ रहेको पश्चिम चितवन जाने सडकलाई पनि विस्तारित विमानस्थलको छेउमा सार्नुपर्दछ । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले ब्यहोर्ने छ । विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलगायत संरचना छन् । हाल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । पूर्वतर्फका मानवीय संरचनाका कारणले विमानहरुले १२ सय सय मिटर रनवे पनि प्रयोग गर्न सक्दैनन् । विस्तार गरेपछि विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटर बन्नेछ ।