कालिकोट । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि हिजो बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताएका छन । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ । श्रीमतीलाई गोली हानी भागेका यमबहादुरलाई लमहीको अर्जुन खोला नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । ‘श्रीमतीलाई गोली हानेर भागेका यमबहादुरलाई करिब साढे ८ बजेतिर प्रहरीले अर्जुन खोला नजिकबाट नियन्त्रणमा लियो ।’ हत्याको कारण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कडायतले बताए ।