कालिकोट । कर्णालीमा ठुलो विकट भूगोल, छरिएका बस्तीहरु भएकाले सबै नागरिकहरुले सहज रुपमा आधारभूत स्वास्थ्य सेवा पाउन कठिन छ । अझैपनि दुर्गम गाउँमा स्वास्थ्य सेवा पुग्न सकिरहेको छैन । अझ यहाँका सुत्केरी तथा गर्भवती महिलाहरुले निकै जटिलता भोग्नु परिरहेको चिकित्सकहरु बताउँछन् । गाउँ–गाउँमा बर्थिङ सेन्टरहरु खुलेपनि सबै बस्तीका सुत्केरी तथा गर्भवती महिलाहरु समयमा पुग्न सक्ने अवस्था रहन्न । भौगोलिक विकटताका कारण समयमा उद्धार हुन सक्ने अवस्था छैन । नजिक मानिएका बर्थिङ सेन्टर, स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालमा शल्यक्रियासहिको प्रसुति सेवा प्रयाप्त मात्रामा छैनन् । गाउँमा विशेषज्ञ चिकित्सक तथा पर्याप्त पूर्वाधार अभाव लगायतका यावत कारण दुर्गममा भरपर्दो प्रसुति सुविधा छैन । जसका कारण जिल्लामा गम्भिर अवस्थाका सुत्केरी तथा गर्भवती महिलाहरुको ज्यान जाने खतरा पनि उत्तिकै छ । यद्यपि राष्ट्रपति महिला उत्थान कार्यक्रमले भने कर्णालीका सुत्केरी तथा गर्भवती महिलाहरुलाई भरोसा दिइरहेको छ । निःशुल्क हवाई उद्धार कार्यक्रम सुरु भएयता कर्णालीका थुप्रै सुत्केरी तथा गर्भवती महिलाहरुको ज्यान बचेको छ । कर्णालीका लागि यो कार्यक्रम बरदान सावित भएको छ । श्री उत्तर पश्चिम पृतना हेडक्वाटर नेमारे ब्यारेक सुर्खेतका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भए पश्चात् २०७६ सालयता ३०५ जना सुत्केरी महिलाहरुलाई उद्धार गरिएको छ । चालु आर्थिक बर्षको साउन महिनादेखि अहिलेसम्म मात्रै ३५ जना सुत्केरी महिलाहरुको उद्धार भएको पृतनापति, उपरथी कृष्णदेव भट्टले जानकारी दिए । माघसम्म डोल्पाबाट मात्रै ११ जना सुत्केरीको उद्धार भएको छ । यस्तै हुम्लाबाट दुई, कालिकोटबाट चार, जाजरकोटबाट तीन, रुकुम पश्चिमबाट दुई, बझाङबाट १, डोटी १, बाजुरा ९ र अछामबाट दुई जना सुत्केरी महिलाहरुको उद्धार भएको छ । वीरेन्द्रनगर स्थित पश्चिम एयर वेशद्वारा कर्णाली, सुदुर पश्चिम तथा लुम्बिनी प्रदेश अन्तर्गतका विकट स्थानहरुबाट प्रसुती स्वास्थ्यमा जटिलता आएका सुत्केरीहरुलाई हेलिकप्टर मार्फत उद्धार कार्य भइरहेको छ । पृतनापति भट्टका अनुसार उद्धार गरिएका महिलाहरुलाई प्रसुति सेवा उपलब्ध भएका सुर्खेत÷नेपालगंजमा रहेका स्वास्थ्य सेवा प्रदायक अस्पतालहरुसम्म पुर्याउने काम भइरहेको छ