कालिकोट । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ ः ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । २०२७ सम्म चल्ने लिग–२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् । पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिंदै विजयी सुरुआत गर्ने सोचमा हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले गर्नेछन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । त्यसैले नेपालको मनोबल उच्च छ । नेपालले आज ओपनर आसिफ शेखको स्थानमा अनिल शाहलाई मौका दिने सम्भावना रहन्छ । क्यानडासँग दुई खेलमा अनिलले ५० र ११२ रन बनाएपछि त्यो सम्भावना बढेको हो । क्यानडासँग अन्तिम खेलमा शतक हानेका भीम सार्कीले भने निरन्तरता पाउनेछन् । रोहित पौडेल र आरिफ शेख नेपालका प्रमुख दुई ब्याटर हुन् । मध्यक्रममा यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी–२० को कारण आजको खेल गुमाउने छन् । उनी नहुँदा पवन सरार्फ खेल्ने सम्भावना छ । नेपालको तीव्र गतिको बलिङ आक्रामणमा करण केसी र सोमपाल कामी हुनेछन् । गुलशन झालाई अलराउन्डरको रुपमा खेलाउन सक्छ । स्पिनरमा भने ललितनारायण राजवंशी प्रमुख बलर हुन् । उनलाई रोहित, पवन र कुशलले साथ दिनेछन् । उता नामिबियाका बायाँ हाते ओपनर माइकल भान लिंगेनले ओडीआईमा नेपालविरुद्ध गत वर्ष लिग–२ मा दुई शतक हानेका थिए ।