बालुवाटारको ललिता निवासको सरकारी जग्गा निजी व्यक्तिहरूको नाममा गएको प्रकरणमा विशेष अदालतले भोली फैसला गर्ने भएको छ । विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार ललिता निवासको मुद्दा हेर्दाहेर्दैमा राखेको हो । यसको पेसी भोलिका लागि राखिएको छ। आज नै फैसला आउने भनिए पनि नभ्याएपछि भोलीका लागि पेसी तोकिएको हो । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा सुनुवाइ भइरहेको थियो। माघ २ गतेदेखि उक्त इजलासमा सुनुवाइ हुँदै आएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै मुद्दा दायर गरेको थियो । अख्तियारले २०७६ माघ २२ गते विशेष अदालतमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।