कालिकोट । कर्णाली करिडोर आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । अहिले हुम्लाको लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर कडा चट्टानी पहाडमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको निर्माणको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ । छहारेदेखि लिप्चेसम्म ८ सय मिटर भीर काट्ने काम धमाधम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी अमृत पराजुलीले जानकारी दिए । वैशाख १ गते हुम्लामा गाडी पु¥याउने गरी काम भइरहेको उनले बताए । १० जिल्ला रहेको कर्णाली प्रदेशमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एकमात्र जिल्ला हुम्ला हो । हुम्लामा गाडी पुगेपछि उत्तरी छिमेकी चीनसँग स्थलमार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिने छ । सेनाले अहिले काम गरिरहेको लालीबगर–दुल्लीकुना खण्डअन्तर्गत पर्ने छहारेदेखि लिप्चेसम्मको भीर सबैभन्दा कठिन मानिन्छ । कडा चट्टान फुटाउनका लागि ब्लास्टिङको काम सकिएको र ८०० मिटर सडक खण्डको लेबलिङ भइरहेको सेनाले जनाएको छ । यो सडकमा साना सवारी सञ्चालन भए पनि ठूला गाडी सञ्चालन गर्न भने कठिन छ । कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुबाट सुरु हुने कर्णाली करिडोर सुदूरपश्चिमको बाजुरा जिल्ला भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चिनियाँ नाकासम्म जोडिन्छ । खुलालुदेखि सिमकोटसम्मको कुल लम्बाइ २६८ किलोमिटर छ । त्यसमध्ये सबैभन्दा अप्ठ्यारो मानिएको १२२.७५ किलोमिटर सडक निर्माणको जिम्मा सरकारले ५ चैत २०७१ मा नेपाली सेनालाई दिएको थियो । यो खण्ड सेनाले निर्माण सकेर हस्तान्तरण गरिसकेको छ । कर्णाली करिडोरकै दुल्लीकुना–लालीबगर खण्ड निर्माणको जिम्मा पनि दुई वर्षअघि सरकारले नेपाली सेनालाई दिएको थियो । कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतसँगको सीमा जोडिएको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म जोड्दछ । जमुनाहादेखि हिल्सासम्मको सडकको दूरी ५०५ किलोमिटर रहनेछ । कर्णालीको राजधानी वीरेन्द्रनगरदेखि हिल्सा ४१९ किलोमिटर पर्छ । एक दशक पहिले सडक निर्माण सुरु भएपनि कठिन भूगोलका कारण अझैसम्म पूर्णरूपमा ट्रयाक खोल्न सकिएको छैन ।