काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार खेलिँदैछ । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबिचको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । अन्य क्वार्टरफाइनलमा हङ्कङले थाइल्यान्डको, इन्डोनेसियाले संयुक्त अरब इमिरेट्स ९यूएई० को र आयोजक मलेसियाले जापानको सामना गर्नेछन् । नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालकै समूहबाट उपविजेता बन्दै हङ्कङ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो । यसैगरी नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा कुनै पनि टोलीविरुद्ध हासिल गरेको यो सबैभन्दा ठुलो रनअन्तरको जित हो । माल्दिभ्सविरुद्धको खेलमा नेपालले चार विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक योगफल हो । यसका अतिरिक्त नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो । नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । रुविनाले अविजित एक सय १८ रन बनाएकी थिइन् । उनी अन्तर्राष्ट्रिय टी–२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् । यसका अतिरिक्त रुविना अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटको एउटै खेलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी पनि बनेकी छन् । रुविना जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी हुन् । यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन् ।