एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्ससँग खेल्दै

 काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ स् १५ मा बाँगीमा सुरु हुनेछ । समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ । नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो । हङकङकी मारिको हिल १०० र चान का यिंग केरीले ८७ रन बनाएका थिए । तुलनात्मक रुपमा कमजोर माल्दिभ्समाथि नेपाल सहज जित हात पार्न चाहन्छ । नेपालका सीता रानामगर दुवै खेलमा अलराउन्डर प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएकी छिन् । त्यस्तै रुविना क्षेत्री र इन्दु बर्मा पनि राम्रो लयमा देखिन्छन् । कविता कुँवर नेपालकी प्रमुख तीव्र गतिकी बलर हुन् । नेपालले क्वाटरफाइनल खेल्नुअघि आज मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई मौका दिनसक्छ । १६ टोली सहभागी प्रतियोगितामा चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

अनलाईन खबरवाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!