कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गर्नुभएको छ । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै कोशीमा काँग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रम हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताउनुभएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । पार्टीले सञ्चालन गरेको ४ महिने अभियानका सम्बन्धमा प्रदेश इन्चार्जहरूले पेस गरेको रिपोर्टमाथि आजको बैठकमा धारणा राख्दै प्रचण्डले मुलभूत रूपमा अभियान सफल भएको समेत बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि यस्ता खालका अभियानलाई निरन्तरता दिने जानकारी गराउनुभयो । अहिले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनुपर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको तर, यसबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था भने आएको उहाँले बताउनुभयो ।