जनयुद्ध दिवस मनाउने अधिकार कसैले रोक्न नसक्ने प्रधानमन्त्री प्रचण्डको दावी

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार हो भन्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । आज नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले देशभरि जनयुद्ध दिवस मनाउने बताए । फागुन १ गते अर्थात ‘भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो । अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय ग¥यो’, प्रचण्डले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं । तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन । देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ ।’ उनले भोलि १ फागुनमा काठमाडौंमा विधान सम्मेलनको उद्घाटन नै जनयुद्ध दिवसलाई सम्मान गर्दै मनाउने र देशभर आ–आफ्नो तरिकाले मनाउने पनि बताए । प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदाहरुको सूचीमा फागुन १ गते जनयुद्ध दिवस पनि थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवसमा आम सहमति नभएको सार्वजनिक बिदा दिनु उचित नहुने भन्दै बिदा नदिन अन्तरिम आदेश दिएको थियो । माओवादीले प्रमुख पद जितेको देशका धेरै स्थानीय तहले १ फागुनमा जनयुद्ध दिवसको बिदा घोषणा गरेका छन् ।

error: Content is protected !!