कालिकोट । चालु आर्थिक वर्षमा २१ वटा जिल्लाका पशुचौपाया खोरेत रोग प्रभावित भएका छन् । भाइरसको संक्रमणका कारण पशुचौपायामा लाग्ने यो रोग आर्थिक वर्ष २०८०÷०८१ मा २१ जिल्लाका पशुमा देखिएको हो । खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा. कृष्णराज पाण्डेका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, ओखढुङ्गा, धादिङ, चितवन, कास्की, गोरखा, तनहुँ, नवलपुर, मोरङ, झापा लगायतका जिल्लामा यो रोग देखा परेको हो । उनका अनुसार जाडोमा खोरेत रोगको भाइरस बढी सक्रिय हुने भएकाले पुस र माघ महिनामा पशुचौपायामा यो रोग बढी देखिन्छ । ‘सबै भाइरसमा लागु हुँदैन तर खोरेत रोगको भाइरस पुस, माघमा बढी फैलिएको पाइएको छ,’ डा. पाण्डेले भने, ‘गत वर्ष करिब ९ वटा जिल्लामा मात्रै यो रोग देखिएको थियो तर यो वर्ष २१ वटा जिल्लामा देखिएको छ । खोरेत रोग प्रभावित जिल्लामध्ये कुनैमा पहिला नै देखिएको र कुनै नयाँ थपिएको उनले सुनाए । ‘गत वर्ष ९ वटा जिल्लामा यो रोग देखिएको थियो,’ उनले भने, ‘यो वर्ष २१ जिल्लामा देखिएको छ, अघिल्लो वर्षमा झन् बढी ४५ जिल्लामा यो रोग देखिएको थियो ।’ बागमती र गण्डकी प्रदेशमा खोरेत रोगको बढी जोखिम रहेको डा. पाण्डेले बताए । ‘बागमती र गण्डकी प्रदेशमा मासुका लागि बढी पशु चौपाया ओसारपासार हुने भएकाले यो रोगको बढी जोखिम छ,’ उनी भन्छन्, ‘लुम्बिनी, कोशी र सुदूरपश्चिममा खोरेत रोगको जोखिम केही रहे पनि कर्णाली प्रदेशमा कम जोखिम छ ।’