कालिकोट । जिल्लाको महावै गाउँपालिकाले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आईतवार बसेको गाउँ कार्यपालिकाको बैठकले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गते सुरु भएको महान जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकीय प्रकाश बहादुर शाहीले सुचना जारी गर्दै महान ‘जनयुद्ध दिवस’को स्मरण र सम्मानमा फागनु १ गत गाउँपालिकाको कार्यालय अन्तरगतका सम्पुर्ण विद्यालयहरु, स्वास्थ्य संस्थाहरु, सहकारी, बैंक तथा वित्तिय संघ संस्थाहरुमा विदा दिने उल्लेख गरीएको छ । गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाका कार्यालयहरुमा एक दिनको लागि विदा रहेको सबैमा यो सूचना जारी गरिएको छ । ‘जनयुद्ध दिवस’ को अवसरमा अहिले सम्म जिल्लाका पाँच वटा स्थानिय तहहरु रास्कोट नगरपालिका,खाँडाचक्र नगरपालिका, पचालझरना गाउँपालिका, पलाता गाउँपालिका र महावै गाउँपालिकाले सार्वजनिक विदा दिने भएका छन । यता ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि माओवादी आधार इलाका भनेर चिनिने स्थानहरुमा स्थानीय सरकारहरुले उक्त दिन विदा निर्णय गर्दै आएका छन् ।