३५ करोड खर्चेर पनि काम नलाग्ने बनेको सडक ।।

बुटवल–तानसेन सडक खण्डको विकल्पका रूपमा सुरु गरिएको झुम्सा–चरंगे सडक साढे ५ वर्ष बितिसक्दा पनि पूरा भएको छैन।हिउँद होस् कि बर्खा, जुनसुकै मौसममा पहिरोको जोखिम हुने सिद्धबाबा खण्डको विकल्प मानेर लुम्बिनी प्रदेश सरकारले झुम्सा–चरंगे सडकको काम सुरु गरेको थियो।कुल २० किलोमिटर लामो उक्त सडकमध्ये १५ किलोमिटरमा धेरै काम छ, ५ किलोमिटर भने अलपत्र छ।पाल्पातर्फ तिनाउ गाउँपालिका–३, झुम्साबाट चौकी भन्ज्याङसम्म साढे सात किलोमिटर र रुपन्देहीतर्फ बुटवल धागो कारखानाबाट देवदह नगरपालिका १० चरंगेसम्म सडक निर्माणाधीन छ।उक्त १५ किलोमिटर खण्ड मर्मतसम्भार गर्दै र केही फराकिलो बनाइएको छ। अन्त्यन्त अप्ठ्यारो मानिने र चुरेको जंगलक्षेत्र रहेको चौकी भन्ज्याङबाट चरङगेसम्म पाँच किलोमिटरमा पनि ट्र्याक खोलिएको थियो।बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा बर्सेनि पहिरोको जोखिम बढेपछि २०६८ सालयता विकल्प खोज्न चौतर्फी दबाब थियो।लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकारले २०७५ सालमा १० करोड रुपैयाँ विनियोजन गरेर सिद्धार्थ राजमार्गको झुम्साबाट महेन्द्र राजमार्गको धागो कारखानासम्म २० किलोमिटर सडक प्रदेशको ‘गौरवको आयोजना’ रूपमा अघि बढाएको थियो।बुटवल–तानसेन आवतजावत गर्ने यात्रु र सिमेन्ट उद्योगका लागि वैकल्पिक सडक मानेर काम सुरु गरिएको थियो।सिद्धबाबाको पहिरोका कारण पाल्पा रहेका चुनढुंगा खानीबाट निकालिएका कच्चा पदार्थ रुपन्देही र नवलपरासीमा रहेका सिमेन्ट उद्योगसम्म पुर्‍याउन पनि समस्या परेको थियो।प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसार हरेक वर्ष बजेट विनियोजन गर्दै करिब पाँच वर्षमा निर्माण पूरा गर्ने लक्ष्य थियो।प्रदेश सरकारले पछिल्ला दुई वर्षदेखि बजेट कम गरेको छ। विनियोजित बजेट पनि पूरा खर्च हुन सकेको छैन।यातायात पूर्वाधार निर्देशनालय, रुपन्देहीका अनुसार निर्माण सुरु भएको ६ वर्षमा प्रदेश सरकारले २० किलोमिटर सडकमा ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।दुई जिल्लामा पर्ने भएकाले झुम्सा–चौकी भन्ज्याङ साढे ७ किलोमिटर खण्डमा पूर्वाधार विकास कार्यालय, पाल्पाले र चौकी भन्ज्याङ– धागो कारखाना साढे १२ किलोमिटर खण्डमा पूर्वाधार विकासकै रुपन्देही कार्यालयले काम गर्दै छन्।यातायात पूर्वाधार निर्देशनालयका अनुसार पाल्पा खण्डमा २०७५र७६ मा ४ करोड ८७ लाख ७३ हजार, २०७६र७७ मा २ करोड ८९ लाख ७५ हजार, २०७७र७८ मा १ करोड ५८ हजार, २०७८र७९ मा ३ करोड ७६ लाख ५१ हजार रुपैयाँ खर्चमा नाली, ग्याबिन र रिटेनिङ वालको काम भएको छ। ग्राभेल पनि गरिएको छ।पाल्पातर्फ २ वटा पुल बनेका छन्, ६ किलोमिटर ग्राभेल र ३ किलोमिटर पक्की भएको छ।बेलदमार खोलामा पुल बनाउन २ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ तर काम सुरु भएको छैन। सडक पूर्वाधार विकास कार्यालय, पाल्पाका प्रमुख वासुदेव भण्डारीका अनुसार निर्माण कम्पनीले पेस्की रकम लिइसकेको छ तर काम सुरु गरेको छैन।रुपन्देहीतर्फ २०७५र७६ मा ५ करोड, २०७६र७७ मा ४ करोड २० लाख, २०७७र७८ मा २ करोड ८३ लाख र २०७८र७९ मा २ करोड १५ लाख रुपैयाँ खर्च भएको छ।सडक पूर्वाधार विकास कार्यालय, रुपन्देहीका प्रमुख लालु गिरीका अनुुसार सडक, पुल, कल्भर्ट निर्माणका क्रममा २१ करोड रुपैयाँ खर्च भएको छ। रुपन्देहीतर्फ ६ किलोमिटरमा कालोपत्रे गरिएको छ, २ वटा पुल र ८ वटा कल्भर्ट बनेका छन्।
सेतोपाटी बाट साभार

error: Content is protected !!