भ्रष्टाचार नियन्त्रणमा सरकारले हस्तक्षेप गर्दैन प्रधानमन्त्री ।।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले लिएको विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारका गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे। उनले भ्रष्टाचार विरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।प्रधानमन्त्री दाहाललले कानुनको शासन, मानव अधिकारको संरक्षण तथा समतामूलक र समावेशी शासनको प्रत्याभूतिका गर्नका लागि आयोगले इतिहासदेखि नै खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।उनले आगामी दिनमा भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने सबालमा आयोग दृढताका साथ उभिनेछ विश्वास व्यक्त गरे। उनले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताए। भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको र सरकारले यस्ता कार्यमा हस्तक्षेप नगर्ने दाबी गरे।उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको जानकारी दिए।
थाहा खबर बाट साभार