मन्त्रिपरिषद पुनर्गठन गरेर तामाङ समुदायबाट मन्त्री बनाउँछु, प्रधानमन्त्री प्रचण्ड

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने र तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने बताएका छन् । सोनाम ल्होछारको अवसरमा शनिबार तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघीय मन्त्रिपरिषद पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बन्ने बताएका हुन् । ‘म यहाँहरुलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्नसक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौं जनताको अगाडि भन्दैछु । अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ’, उनले भने । गत वर्षको सोनाम ल्होछारमा पनि आफूले तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने भनेको तर बागमती प्रदेशको मात्र मन्त्री बनाउन सकिएको भन्दै उनले अब भने संघीय सरकारमै मन्त्री बनाउने आश्वासन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होछार कार्यक्रमका लागि सरकारले दिने सहयोग रकम नपाएको विषयमा आफूले बुझ्ने र यस वर्ष पनि सहयोग गर्ने बताएका छन ।

error: Content is protected !!