पाकिस्तानमा मतगणना अपडेट ,९९ सिटमा इमरान खान समर्थित उम्मेदवार विजयी

कालिकोट । पाकिस्तानमा राष्ट्रिय सभाको २६६ मध्ये १५ क्षेत्रको मतपरिणाम आउन बाँकी रहँदा ९९ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेअनुसार शनिबार बिहानसम्म २५० सिटको नतिजा आउँदा सत्तारूढ पाकिस्तान मुस्लिम लिग नेश्नलिस्ट (पिएमएल–एन) दोस्रो बनेको छ। उसले ७१ सिट जितेको छ। त्यस्ते बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टरियन्स (पिपिपी)ले ५३ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले १७ सिट जितेको छ। स्वतन्त्र जितेका उम्मेदवारहरू पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई) समर्थित हुन्। पिटिआईका अध्यक्ष समेत रहेका इमरान खान हाल रावलपिण्डीस्थित अडियाला जेलमा छन्। चुनाव सुरू हुनु केही समयअघि विभिन्न अदालतले उनलाई पटकपटक जेल सजाय सुनाएको थियो । त्यसअघि उनलाई नेसनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) ले राज्यको उपहार बेचेको आरोपमा १४ वर्ष जेल सजाय सुनाएको थियो। यी दुई मुद्दामा उनकी श्रीमती बुशरा बिबीसहितलाई जेल सजाय सुनाएको हो। त्यसअघि साइफर मुद्दा अर्थात सरकारी गोप्य सूचना चुहाएको भन्दै १० वर्ष जेल समेत सुनाएको थियो। पाकिस्तानको निर्वाचन आयोगले पिटिआइ पार्टीलाई चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ नदिने निर्णयलाई सर्वोच्च अदालतले कायम राखेपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवारी दिएका पिटिआई समर्थित उम्मेदवारहरूलाई अपमानजनक चुनाव चिह्न प्रदान गरिएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। अब १५ स्थानको परिणाम आउन बाँकी छ। बहुमत प्राप्त गर्न १६९ सिट जित्नुपर्छ। पाकिस्तानमा राष्ट्रिय सभाका ३३६ सिटमध्ये २६६ सिटमा मतदान भएको हो बाँकी सिट आरक्षित हुन्। ४ प्रान्तको परिणाम पनि अन्तिमअन्तिम चरणमा पुगेको छ। पञ्जाबमा २९६ प्रान्तीय सिटमध्ये १३१ सिट जितेर पिएमएल–एन ठूलो दल बनेको छ। त्यहाँ १२६ सिटमा पिटिआई समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् भने १० सिट मात्रै पिपिपीले जितेको छ। सिन्धमा १३० वटै क्षेत्रको परिणाम आइसकेको छ। त्यहाँ पिपिपी ८४ सिटसहित पहिलो दल बनेको छ। मुत्ताहिडा क्वमी मुभमेन्टले सिन्धमा २८ सिट जितेको छ। पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले १४ सिट जितेका छन्। खिबरमा ११३ मध्ये ९० सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। त्यहाँ पिएमएल–एनले ५ र पिपिपीले ४ सिटमात्रै जितेको छ। २ वटा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ। बलुचिस्तानको ५१ मध्य ४४ क्षेत्रको परिणाम आइसकेको छ। त्यहाँ पिपिपीले ११ र पिएमएल–एनले ९ सिट जित्दा ५ सिटमा पिटिआई समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

error: Content is protected !!