बाँसबारीको विवादित जग्गा फिर्ता ल्याई अभियुक्तलाई उन्मुक्ति दिने तयारी ।

कालिकोट । सिजी चाँदबाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याएर अभियुक्तहरुलाई उन्मुक्ति दिन सरकारले प्रक्रिया थालेको छ । हिजो भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ । जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा बुधबार हाजिर जमानीमा रिहा भएका थिए । भूमिसुधार कार्यालय काठमाडौंका मालपोत अधिकृत बोगराज शर्मा कट्टेलका अनुसार कार्यालयका कर्मचारी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रतिनिधिले बिहीबार ग्रान्डी अस्पतालमा पुगी ठाकुरलाई बाटोको म्यादबाहेक २१ दिनभित्र उपस्थित हुन पत्र बुझाएका छन् । उनीहरुले ठाकुरलाई पत्र बुझाउँदा टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनाललाई रोहबरमा राखेका छन् । ‘त्यो विशुद्ध नेपाल सरकारको जग्गा हो, दुई पटक गरी ६ र ४ रोपनी गरी १० रोपनी जग्गा लिइएको रहेछ’, मालपोत अधिकृत कट्टेलले भने, ‘सरकारी जग्गा बिक्री गर्ने बेला तत्कालीन श्री ५ को सरकारको निर्णय खोजिएको रहेनछ, मालपोत कार्यालयका तत्कालीन कर्मचारीले सोर्सफोर्स वा कुनै कारण पास गरिदिएछन् ।’ जग्गा बिक्री गर्न तत्कालीन श्री ५ को सरकारबाट कुनै निर्णय भएको भए सञ्चालकले प्रमाण लिएर आउन सक्ने उनले बताए । ‘हामीले नदेखेको निर्णय पनि भएको हुनसक्छ, त्यसैले कानुनबमोजिम सजाय दिनुअघि मनासिव सफाइको मौका दिनुपर्छ’, उनले भने, ‘उनले के प्रमाण ल्याउँछन् वा ल्याउँदैनन्, त्यसअनुसार निर्णय हुन्छ ।’ सो जग्गा धितोमा राखेर कम्पनीले सरकारी स्वामित्वकै नेपाल बैंकबाट २८ करोड ८० लाख रुपैयाँ ऋण लिएको समेत देखिएको मालपोत अधिकृत कट्टेलले बताए । ‘यसमा के–कसो भएको हो र अब के गर्ने भन्नेबारे हामी अध्ययन गर्छौं,’ उनले भने ।

error: Content is protected !!