कालिकोट । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष बजेटको लागि तयारी अघि बढाएका छन् । आगामी फागुन १५ गतेभित्र बजेटको सिद्धान्त प्राथमिकता संसदमा प्रस्तुत गर्नुपर्ने भएपछि त्यसपूर्व गर्नुपर्ने कामको लागि आयोग र मन्त्रालय जुटेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले बजेट कार्यान्वयन कमजोर हुनुको कारण निर्माणको क्रममा तयारी नपुग्नु भएको निष्कर्ष निकालेपछि अहिले बजेट क्यालेन्डर नै परिवर्तन गरिएको छ। चालु वर्षको बजेट छलफलका क्रममा सांसदहरूले पनि बजेट छलफल पर्याप्त नभएको र तयारी फितलो भएको बताएपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन नै गरेर बजेट क्यालेन्डर परिवर्तन गरिएको हो। आगामी वर्षको बजेट निर्माणको क्रममा राष्ट्रिय योजना आयोग बजेटको सिलिङ तोक्ने तयारीमा छ। आगामी साता बजेटको सिलिङ दिइँदैछ। अर्थ मन्त्रालयले बजेटको सिद्धान्त र प्राथमिकता लेखनको लागि टिम बनाएर काम सुरू गरेको छ। मन्त्रिस्तरीय निर्णयबाट बजेट महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा सिद्धान्त र प्राथमिकता लेखन कमिटी बनाइएको छ। आगामी वर्षको बजेटको लागि सिलिङ दिने सवालमा छलफलमा जुटेको राष्ट्रिय योजना आयोगले अहिले नयाँ ढंगले छलफल सुरू गरेको आयोगका आर्थिक व्यवस्थापन महाशाखा प्रमुख महेश भट्टराईले बताए।