कालिकोट । प्रदेशका मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनका लागि संघीय सरकार उदासिन भएको भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग गुनासो गरेका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरुको बैठक बसेको थियो । बैठकमा मुख्यमन्त्रीहरुले संघीय सरकारले आवश्यक कानुन र अधिकार नदिँदा प्रदेश सरकारलाई काम गर्न अप्ठेरो परेको बताएका थिए । बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता मनिष सुमनका अनुसार मुख्यमन्त्रीहरुले संघीय निजामती ऐन, प्रहरी ऐनलगायतका संघीयता कार्यान्वयनसँग जोडिएका ऐन कानुन नबन्दा काम गर्न नसकेको बताएका थिए । ‘प्रदेशलाई परेको समस्या बारे मुख्यमन्त्रीहरुले जानकारी गराउनुभयो’, सुमनले भने, ‘प्रहरी समयोजन, कर्मचारी समायोजन जस्ता कुराहरु गर्नुभयो । हिजो सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषदको दोस्रो बैठकमा पनि मुख्यमन्त्रीले संघीयता कार्यान्वयनमा भएका कठिनाइ प्रधानमन्त्री प्रचण्डलाई सुनाएका थिए । उनीहरुले समयमा एजेण्डा नदिएको भन्दै राष्ट्रिय समन्वय परिषदको बैठकबाट निर्णय गर्न अस्वीकार गरेका थिए । शीर्ष नेताको बैठकमा मधेश सरकारले विश्वासको मत लिने विषयमा पनि छलफल भएको थियो । जनमत पार्टी सरकारबाट बाहिरिएपछि जसपा नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्नेछ । ‘मधेश सरकारले विश्वासको मत लिने कुरा भएको छ’, जसपा नेता मनिष सुमनले भने, ‘विश्वासको मत छिट्टै लिने कुरा छ ।’