कालिकोट । कडा सुरक्षा प्रबन्धका बीच पाकिस्तानमा आज आम निर्वाचन हुँदै छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ । हिंसात्मक घटनाका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन सेना, प्रहरी र निर्वाचन आयोगलाई चुनौतीपूर्ण हुने ठानिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ । पाकिस्तान निर्वाचन आयोगका अनुसार कूल १२ करोड ८५ लाख ८५ हजार ७६० जना मतदाता छन् । मतदानका लागि ९ लाख भन्दा बढी मतदान केन्द्र बनाइएको छ । निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् । २९ हजार ९८५ मतदान केन्द्र संवेदनशील र १६ हजार ७६६ मतदान केन्द्र अति संवेदनशील घोषणा गरिएको छ । निर्वाचनमा ५ हजार १२१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये ४ हजार ८०७ जना पुरुष, ३१२ महिला र दुई जना यौनिक अल्पसंख्यक उम्मेदवार छन् ।