मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको हानथाप

 जनकपुरधाम । जनशक्ति अभावका कारण प्रादेशिक अस्पताल जनकपुरले न्यूरो र क्यान्सर जस्ता जटिल स्वास्थ्य समस्याको उपचार सेवा दिनसकेको छैन । मुटु उपचारका लागि केही दिनअघि जेनतेन क्याथ ल्याब सञ्चालन गरिएको तर जनशक्ति नहुँदा निरन्तरतामा प्रश्न छ । अस्पतालले न्यूरो, क्यान्सर र मुटुका गम्भीर बिरामीलाई अन्यत्र रेफर गर्दै आइरहेको छ । दुई वर्षअघि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधीनमा आएको प्रादेशिक अस्पताल मधेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल हो ।अस्पतालले कन्सल्ट्यान्ट चिकित्सक, चिकित्सक, मेडिकल ल्याब टेक्निसियन, स्टाफ नर्स, कम्प्युटर इन्जिनियर, कानुन अधिकृत लगायत विभिन्न पदमा ३०–३५ गरी ६५ जना कर्मचारीका लागि १० असोजमा सूचना प्रकाशित गरेको थियो । त्यसअघि २०७९ साउनमा पनि ५० जना कर्मचारी भर्ना गर्न विज्ञापन गरेको थियो । १० महिनादेखि उपकुलपति नहुँदा अस्पतालले गरेको विज्ञापन अनुसार कर्मचारी छनोट हुनसकेको छैन । २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा। रामकेवल साहको निधन भएको थियो । कलेजोको क्यान्सरबाट पीडित डा। साहको निधन भएको १० महिना बित्न लाग्दा समेत मधेश सरकारले उपकुलपति नियुक्त गर्न सकेको छैन ।जसकारण जनशक्ति भर्नादेखि अन्य कामकारबाही गर्न नसकेर प्रादेशिक अस्पताल सञ्चालनदेखि प्रतिष्ठान अन्तर्गत भइरहेको चिकित्सा शिक्षाका विभिन्न विषयको शिक्षण पनि प्रभावित भएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति डा। अंकुरप्रसाद साह बताउँछन् । प्रतिष्ठानले कर्मचारी भर्ना लिने तयारी गर्दा करिब तीन महिनाअघि मुख्यमन्त्री कार्यालयले रोकेको थियो । उपकुलपति रिक्त हुँदा दीर्घकालीन असर पर्ने कुनै निर्णय नलिन मुख्यमन्त्री कार्यालयले पत्राचार गर्दा कर्मचारी भर्नादेखि विभिन्न कामहरू प्रभावित भइरहेको प्रादेशिक अस्पतालका निर्देशक डा। पण्डितको भनाइ छ ।

अनलाईन खबरबाट साभार

error: Content is protected !!