कालिकोट । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ । हिजो र आज बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादीका मुख्य सचेतक हितराज पाण्डेका अनुसार संसदीय दलको बैठकमा हिजो सोमबार १६ जना र आज ८ जना सांसदले धारणा राखेका थिए । अधिकांशले राष्ट्रिय सभाको अध्यक्षमा पार्टीले उम्मेदवार खडा गर्नुपर्ने बताएका छन् । बैठकमा सांसदहरुले माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल भएको भन्दै आलोपालो प्रधानमन्त्री गरेमा माओवादी केन्द्रको उपस्थिति संवैधानिक परिषदमा नरहने विषय स्मरण गरेका छन् । राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादीको उम्मेदवार पराजित हुन पुगेको र त्यसमा कांग्रेसभित्रको अन्तरविरोध कारण रहेको उल्लेख गर्दै यस घटनाका आधारमा पनि माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने बताएका छन् । पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाको अध्यक्षमा हाम्रो उम्मेदवार रहन्छ र यस सम्बन्धमा गठबन्धनमा गम्भीर ढंगले छलफल गर्छु भन्नुभएको छ’ माओवादीका एक सांसदले बताएका छन । राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने निचोडमा पुगेता पनि औपचारिक निर्णय भने माओवादी केन्द्रले लिएको छैन ।