साफ यू–१९ महिला च्याम्पियनसिप, नेपालले लिगको आफ्नो अन्तिम खेलमा आज भारतसँग खेल्दै ।

कालिकोट । बंगलादेशको ढाकामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले लिगको आफ्नो अन्तिम खेलमा आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । शीर्ष दुईमा रहेर प्रतियोगिताको फाइनल खेल्न नेपाललाई आज स्पष्ट जितको आशव्यकता छ । नेपालको लागि यो खेल गर या मरको अवस्थामा छ । जितले नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । चार टोली सहभागि प्रतियोगितामा आयोजक बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भारतको दुई खेलबाटै समान तीन अंक छ । लगातार दुई हार बेहोरेको भुटान अंकविहीन छ र फाइनल होडबाट बाहिरिसकेको छ । नेपाल र भारतको समान अंक भए पनि भारत गोल अन्तरमा अघि छ । भारतले ११ गोल गर्दा जम्मा एक गोल मात्र बेहोरेको छ । नेपालले जम्मा दुई गोल गरेको छ भने तीन गोल बेहोरेको छ । त्यसैले पनि भारतविरुद्ध नेपाललाई जित नै चाहिन्छ । भारत भने नेपालविरुद्ध बराबरी खेलेमा पनि फाइनल पुग्नेछ । च्याम्पियनसिपको पहिलो खेलमै नेपाल आयोजक बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । त्यसपछि नेपालले भुटानलाई १–० ले हराएर पहिलो जित हात पारेको थियो । सिंगल राउण्ड रोविनका आधारमा भइरहेको च्याम्पियनसिपमा लिग चरणका खेलपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । नेपालले अहिलेसम्म च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । अहिलेसम्म भएको चार संस्करणमध्ये बंगलादेशले तीन तथा भारतले एकपटक उपाधि जितेको छ । नेपाल दुईपटक उपविजेता बन्दा दुईपटक तेस्रो भएको थियो ।

error: Content is protected !!