कालिकोट । मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु–बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा हिजो राति करीव १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिएका छन । डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । ‘आज बिहान ६ बजेतिर आगलागी हुदा घर जलेको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको बताईएको छ । शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुुसार लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारत भएका छन् । लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । ‘आमाले राति अबेरसम्म आगो तापेर बस्नुभएको रहेछ । राति पुरै आगो निभेको रहेनछ । त्यही आगो सल्केर आगलागी भएको देखिन्छ,’ डीएसपी थापाले भने । आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको जानकारी प्राप्त भएको छ । उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको र आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।