माघमै फुल्यो लालीगुराँस ।।

मकवानपुर । मकवानपुरको पहाडी भेगमा ढकमक्क लालीगुराँस फुलेका छन् । मकवानपुरको पहाडी क्षेत्रमा पर्ने पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन, कैलाश, भीमफेदी, इन्द्रसरोबर गाउँपालिका क्षेत्रमा ढकमक्क लाली गुराँस फुलेका हुन् ।विगतका वर्षमा फागुनमा फुल्ने राष्ट्रिय फूल लालिगुँरास यस वर्ष माघमै फुलेको हो । विगतका वर्षहरूमा फागुनको अन्तिम सातादेखि फुल्न सुरु गर्ने र चैतसम्म रहने गरेको थियो । यस वर्ष भने पुसबाटै लाली गुराँस फुलेको र माघमा अस्ताउन थालेको हो ।लाली गुराँस फुलेसँगै दामन–सिमभञ्ज्याङ घुम्न आउने पर्यटकहरूका लागि थप आकर्षणको केन्द्र बनेको छ । हेटौँडाबाट काठमाडौँको यात्राका क्रममा त्रिभुवन राजपथ र हेटौँडा कुलेखानी फाखेल तथा हेटौँडा कुलेखानी चन्द्रागिरि सडकको यात्रा गर्नेहरूलाई ढकमक्क फुलेको लाली गुराँसले स्वागत गरिरहेको छ । समुद्री सतहदेखि १ हजार ४०० मिटर उचाइदेखि १ हजार ५५० मिटर उचाइका जंगलमा लालीगुराँस फुल्न थालेको अनुमान गरिएको छ ।जलवायु परिवर्तनका कारण फागुन चैतमा फुल्ने लालीगुराँस करिब १ महिना अगावै फुलेको हो । चैतमा हुने तापक्रम फागुनमा, फागुनमा हुने तापक्रम माघमा हुन थालेपछि फागुन चैतमा फुल्ने लालीगुराँस माघ फागुनमा फुल्न थालेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले प्रतिक्रिया दिए । समय अगावै लाली गुराँस फुल्नुको मुख्य कारण जलवायु परिवर्तन रहेको उनले बताए ।
रातो पाटी बाट साभार