बिजौरी । दाङमा पहिलोपटक देशकै दोस्रो लामो जिपलाइन सञ्चालनमा आउन थालेको छ। २०७८ साल जेठदेखि निर्माण शुरु गरेको जिपलाइन सञ्चालनको अन्तिम तयारी रहेको छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जनाएको छ।कम्पनीका सञ्चालक शिव श्रेष्ठका अनुसार ९५ प्रतिशत काम पूरा भएको र अब ५ प्रतिशत बाँकी रहेको हुँदा चैते दशैँका दिन उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी रहेको छ।उनले भने, ‘निर्माण शुरु भएको करिब ३ वर्ष हुन लाग्यो। विभिन्न अवरोध र प्राविधिक समयमा नआउँदा एक वर्ष ढिला भयो। चैते दशैँमा सञ्चालन गर्ने तयारीमा छौँ।’ उनका अनुसार जिपलाइनमा अहिलेसम्म १ करोड ३० लाख लगानी भएको छ।छिल्लीकोट ऐतिहासिक, पौराणिक तथा धार्मिक ठाउँ भएको हुँदा र यहाँबाट विभिन्न हिमाल तथा दाङको समतल भूमि देखिने भएकाले यसलाई पर्यटकीय रूपमा विकास गर्न आफूहरूले जिपलाइन सञ्चालनमा ल्याएको उनको भनाइ छ। उनका अनुसार छिल्लीकोटमा बाइसे, चौबीसे राजाहरूको राज्य भएको ठाउँ हो।जिपलाइनसँगै छिल्लीकोटमा १० कट्ठा जग्गा लिएको र रिसोर्ट बनाउने योजना रहेको पनि उनले बताए। उनले पर्यटकहरूको अवस्था हेरी छिल्लीकोटमा तीनतारे होटल बनाउने योजना रहेको र त्यसका लागि स्वीकृति लिइसकेको बताए। जिपलाइनको दूरी करिब १ हजार २ सय मिटरको रहेको छ।कालिका मन्दिरबाट शुरु हुने र भुल्के सामुदायिक वनको चोरकाटेमा ल्यान्डिङ हुने गरी निर्माण गरिएको उनले बताए।यो दूरी पार गर्न प्रतिघण्टा ८० को गति रहेको र बढीमा २ मिनेटमा पार गरिन्छ। उनका अनुसार जिपलाइन देशका विभिन्न ठाउँमा रहेको र त्यहाँ प्रयोग गर्न २(३ हजारसम्म शुल्क रहेको उनले बताए। यसको क्षमता १५० किलोग्रामसम्म रहेको छ।छिल्लीकोटमा आफूले जिपलाइन सञ्चालन ल्याउन थालेपछि स्थानीय निकै खुसी भएको र साथ दिइरहेको उनले बताए। छिल्लीकोटबाट प्यूठानको स्वर्गद्वारीसम्म जानका लागि सडक भएमा यहाँबाट पर्यटकहरू उता जाने र यसबाट यहाँको विकास हुने उनको भनाइ छ।उनले यसबाट आम्दानी हुने रकम मध्य वनलाई ५ प्रतिशत, छिल्लीकोट विकास समितिलाई ५ प्रतिशत र उपमहानगरलाई १३ प्रतिशत कर तिर्ने बताए।
थाहा खबर बाट साभार